Saturday 14th of November | २०८३ कार्तिक २८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २८ शनिबार | रासस

 

अन्ताल्या (टर्किए), २८ कात्तिकः संयुक्त राष्ट्रसङ्कका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न नसकिने अवस्था देखिए पनि त्यसको अवधि र प्रभाव न्यून बनाउन तत्काल र व्यापक रूपमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताउनुभएको छ ।

यही कात्तिक २३ गतेदेखि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को अन्तिम पत्रकार सम्मेलनमा आज सम्बोधन गर्दै उहाँले आगामी केही वर्षसम्म प्रतिवर्ष करिब छ प्रतिशतका दरले उत्सर्जन कटौती गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

 

राष्ट्रिय निर्धारित योगदान (एनडिसी)अन्तर्गतका देशले प्रस्तुत गरेका वर्तमान जलवायु प्रतिबद्धता कार्यान्वयन हुँदा पनि यस शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि २.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम रहेको उहाँले बताउनुभयो ।

 

“हाम्रो जिम्मेवारी तापक्रम वृद्धिलाई १.५ डिग्रीभन्दा माथि जाने अवस्थालाई सकेसम्म न्यून राख्नु, छोटो अवधिसम्म सीमित गर्नु र तापक्रमलाई सकेसम्म छिटो पुनः १.५ डिग्रीभन्दा तल झार्नु हो”, महासचिव गुटेरेसले भन्नुभयो । उहाँले तापक्रम वृद्धिको सीमित र अस्थायी अवस्थाले अहिले देखिएका जलवायुजन्य विनाशकारी प्रभावलाई थप तीव्र बनाउने भएकाले जलवायु न्यायको आवश्यकता अझ बढेको बताउनुभयो ।

 

विकासशील तथा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकलाई अनुकूलन र हानि तथा नोक्सानी सम्बोधनका लागि थप वित्तीय सहयोग आवश्यक रहेको उल्लेख गर्दै उहाँले विकसित देशले विगतका कोप सम्मेलनमा गरेका वित्तीय प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

 

“अनुकूलनका लागि उपलब्ध गराइने वित्तीय सहयोग तीन गुणा बढाउँदा पनि आवश्यक रकमको ३० प्रतिशतभन्दा कम मात्र पूरा हुनेछ”, उहाँले भन्नुभयो । महासचिव गुटेरेसले जीवाश्म इन्धन नै जलवायु सङ्कटको प्रमुख कारक रहेको उल्लेख गर्दै त्यसबाट न्यायोचित, व्यवस्थित र समतामूलक रूपमा बाहिर निस्कन विश्वव्यापी सङ्क्रमणलाई तीव्र बनाउनुपर्ने बताउनुभयो ।

 

जीवाश्म इन्धनमाथिको निर्भरताले देशहरूलाई मूल्यवृद्धि, भूराजनीतिक तनाव र अस्थिरताको जोखिममा पार्ने भएकाले आपूर्तिकर्ता परिवर्तन गर्नुभन्दा निर्भरता घटाउनु महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो । यसका लागि स्वच्छ ऊर्जा, विद्युत् प्रसारण सञ्जाल, ऊर्जा भण्डारण, ऊर्जा दक्षता र स्वच्छ विद्युतीकरणमा व्यापक लगानी तथा विस्तार गर्नुपर्ने उहाँले बताउनुभयो ।

 

उहाँले जलवायु परिवर्तनलाई वातावरणीय विषयमा मात्र सीमित नराखी शान्ति, विकास, मानवअधिकार र सामाजिक न्यायसँग जोडेर हेर्नुपर्ने धारणा राख्नुभयो । जलवायुजन्य विपद्ले भोकमरी, विस्थापन, गरिबी, ऋणको भार र स्रोतसाधनका लागि प्रतिस्पर्धा बढाउँदै विश्वव्यापी अस्थिरता निम्त्याइरहेको उहाँले उल्लेख गर्नुभयो ।

 

“जलिरहेको पृथ्वीमा शान्ति स्थापना गर्न सकिँदैन । जलवायु विपद्ले मानिसलाई पटक–पटक गरिबीमा धकेलिरहँदा गरिबी उन्मूलन गर्न सकिँदैन”, उहाँले भन्नुभयो । महासचिवले जलवायु सङ्कट उत्पन्न गर्न सबैभन्दा कम योगदान गरेका देश र समुदायले नै यसको सबैभन्दा बढी असर भोग्नुपरेको उल्लेख गर्दै जलवायु न्याय सुनिश्चित गर्न अन्तरराष्ट्रिय सहकार्य र वित्तीय सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

 

कोप प्रक्रियालाई विज्ञानले माग गरेको आवश्यकता र राजनीतिक प्रतिबद्धताबीचको दूरी कम गर्ने गरी अघि बढाउनुपर्नेमा जोड दिँदै उहाँले जीवाश्म इन्धनको पक्षमा काम गर्ने समूहको असमानुपातिक प्रभावलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

 

उहाँले कोप–३० को अध्यक्षताले अघि सारेका जीवाश्म इन्धनबाट बाहिरिने सङ्क्रमण र वन विनाश अन्त्यसम्बन्धी मार्गचित्र, स्वच्छ विद्युतीकरण, विश्वव्यापी शून्य फोहोर प्रतिबद्धता, विद्युत् प्रसारण सञ्जाल विस्तार तथा सबैका लागि पूर्वसूचना प्रणालीको कार्यान्वयनलाई महत्त्वपूर्ण पहलका रूपमा उल्लेख गर्नुभयो ।

 

नवीकरणीय ऊर्जा प्रविधि र अर्थतन्त्रमा आएको परिवर्तनले स्वच्छ, सुरक्षित तथा भरपर्दो ऊर्जा भविष्यको सम्भावना बढाएको उल्लेख गर्दै उहाँले त्यसका लागि राजनीतिक इच्छाशक्ति, साहस र तीव्र कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।

 

महासचिवका रूपमा आफ्नो करिब १० वर्षे कार्यकालको अन्तिम कोप सम्मेलनमा सहभागी हुँदै उहाँले जलवायु परिवर्तनको सामना कुनै एक देशले एक्लै गर्न नसक्ने स्पष्ट पार्नुभयो । संयुक्त राष्ट्रसङ्घले पूर्वसूचना प्रणाली, विद्युत् प्रसारण सञ्जाल, मिथेन उत्सर्जन र महत्त्वपूर्ण खनिजलगायतका क्षेत्रमा कार्यान्वयनमुखी सहयोगलाई थप सुदृढ बनाएको पनि उहाँले जानकारी दिनुभयो । “हामी एउटै पृथ्वी साझा गर्छौँ र हामीलाई मन परोस् वा नपरोस्, हाम्रो भाग्य पनि साझा छ”, उहाँले भन्नुभयो ।

 

अन्ताल्याबाट बिदा हुँदै गर्दा विश्व समुदायलाई अन्तिम सन्देश दिँदै महासचिव गुटेरेसले भन्नुभयो, “तथ्यको सामना गरौँ, विज्ञानको अनुसरण गरौँ, भविष्य रोजौँ र कहिल्यै हार नमानौँ ।” टर्किएको अन्ताल्यामा जारी कोप–३१ नोभेम्बर ९ देखि २० सम्म सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan