अस्पताल सेवा सुधारमा सरकारको जोड, उत्कृष्ट कार्यसम्पादन गर्ने अस्पताललाई पुरस्कृत गरिने
काठमाडौं । सरकारले सरकारी अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, नागरिकमैत्री र गुणस्तरीय बनाउन ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ को प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहअन्तर्गत सञ्चालनमा रहेका सबै सरकारी अस्पताललाई कार्यविधि पूर्णरूपमा लागू गर्न निर्देशन दिँदै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पताललाई छनोट गरी पुरस्कृत गर्ने योजना अघि सारेको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ साल चैत्र १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये स्वास्थ्य क्षेत्र सुधारअन्तर्गत अस्पताल सेवा सुधारलाई पहिलो प्राथमिकतामा राखिएको थियो । सोहीअनुसार सरकारले ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको हो ।
मन्त्रालयका अनुसार कार्यविधि लागू भए पनि यसको प्रभावकारी कार्यान्वयन, अनुगमन र सुधारका लागि थप पहल आवश्यक देखिएकाले अस्पतालहरूलाई सेवा सुधारमा केन्द्रित हुन आग्रह गरिएको छ ।
सेवा गुणस्तर, व्यवस्थापन र नागरिक सन्तुष्टिलाई प्राथमिकता
कार्यविधिले अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवाको गुणस्तर सुधार, बिरामीमैत्री वातावरण निर्माण, सेवाको सहज पहुँच, व्यवस्थापन सुधार तथा स्वास्थ्यकर्मीको जिम्मेवारी र जवाफदेहितालाई प्राथमिकतामा राखेको छ ।
सरकारले अस्पतालको भौतिक पूर्वाधार, सरसफाइ, बिरामीको उपचार प्रक्रिया, औषधि तथा उपकरणको उपलब्धता, स्वास्थ्यकर्मीको व्यवहार, गुनासो व्यवस्थापनलगायतका पक्षलाई सुधारको आधार बनाउने तयारी गरेको छ ।
मन्त्रालयले सबै सरकारी अस्पताललाई कार्यविधिअनुसार सुधारका गतिविधि सञ्चालन गरी नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न आग्रह गरेको छ ।
उत्कृष्ट अस्पताल छनोटको तयारी
स्वास्थ्य मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सरकारी अस्पतालमध्ये कार्यविधि कार्यान्वयनमा उत्कृष्ट प्रदर्शन गर्ने अस्पतालको मूल्यांकन गरी पुरस्कृत गर्ने जनाएको छ ।
उत्कृष्ट अस्पताल छनोटका क्रममा सेवा प्रवाहको प्रभावकारिता, व्यवस्थापन क्षमता, बिरामी सन्तुष्टि, स्वास्थ्य सेवाको गुणस्तर, नवप्रवर्तन तथा सुधारका प्रयासलगायतका विषयलाई आधार बनाइने बताइएको छ ।
मन्त्रालयले यस कदमले अस्पतालहरूबीच सकारात्मक प्रतिस्पर्धा बढाउने र स्वास्थ्य सेवामा सुधार ल्याउने विश्वास लिएको छ ।
स्वास्थ्यकर्मीको मनोबल बढाउने प्रतिबद्धता
मन्त्रालयले अस्पताल सुधार अभियानमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकार प्रतिबद्ध रहेको जनाएको छ ।
सूचनामा भनिएको छ, “सबै अस्पताल एवम् कार्यरत स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन यस मन्त्रालय प्रतिबद्ध रहेको छ ।”
सरकारले अस्पताल सेवा सुधारलाई केवल प्रशासनिक प्रक्रिया नभई नागरिकको स्वास्थ्य अधिकारसँग जोडिएको विषयका रूपमा अघि बढाउने जनाएको छ ।
नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुधार आवश्यक
नेपालमा सरकारी अस्पतालप्रति नागरिकको अपेक्षा उच्च रहे पनि सेवा ढिलाइ, भीड व्यवस्थापन, उपकरण अभाव, सरसफाइ, कर्मचारीको व्यवहार तथा व्यवस्थापन कमजोरीजस्ता विषयमा समय–समयमा प्रश्न उठ्दै आएका छन् ।
सरकारको पछिल्लो पहलले सरकारी अस्पतालको सेवा प्रणालीमा सुधार ल्याउने अपेक्षा गरिएको छ । तर कार्यविधि प्रभावकारी बनाउन नियमित अनुगमन, जिम्मेवार निकायको जवाफदेहिता र सुधारका योजनाको निरन्तर कार्यान्वयन आवश्यक देखिन्छ ।
स्वास्थ्य मन्त्रालयले सबै तहका अस्पताललाई कार्यविधि प्रभावकारी रूपमा लागू गरी जनअपेक्षाअनुसार सेवा सुधार गर्न र उत्कृष्टता प्रस्तुत गर्न आग्रह गरेको छ ।
