Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २३ शनिबार | रासस

 इलाम, २३ साउनः जिल्लाको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ ।

गाउँपालिकाले राई समुदायका विद्यार्थीको बाहुल्य रहेका तीनवटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि वान्तवा भाषा तथा लिम्बू समुदायका विद्यार्थीको बाहुल्य रहेका थप तीनवटा विद्यालयमा लिम्बू भाषा पाठ्यपुस्तक अनिवार्य विषयका रूपमा लागु गरेको हो । 

यसअघि चारवटा विद्यालयमा लिम्बू र एउटा विद्यालयमा वान्तवा भाषा अध्यापन हुँदै आएको थियो ।

शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाका अनुसार माङसेबुङ–२ स्थित सरस्वती आधारभूत विद्यालय, माङसेबुङ–४ स्थित जनता आधारभूत विद्यालय र माङसेबुङ–६ स्थित सिंहेश्वरी आधारभूत विद्यालयमा यस वर्षदेखि वान्तवा भाषा पाठ्यपुस्तक लागु गरिएको हो । यसअघि माङसेबुङ–६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा मात्र वान्तवा भाषा पठनपाठन हुँदै आएको थियो ।

यसैगरी, माङसेबुङ–१ स्थित गजुरमुखी आधारभूत विद्यालय र मण्डिका आधारभूत विद्यालय तथा माङसेबुङ–३ स्थित दुर्गा माध्यमिक विद्यालयमा यस वर्षदेखि लिम्बू भाषा पाठ्यपुस्तक लागु गरिएको छ । 

यसअघि माङसेबुङ–३ स्थित पवित्रा आधारभूत विद्यालय तथा माङसेबुङ–५ स्थित साम्जिक मुन्धुम आधारभूत विद्यालय, सरस्वती माध्यमिक विद्यालय र साम्जिक मुन्धुम पाठशालामा लिम्बू भाषा पढाइ हुँदै आएको थियो ।

मातृभाषा लागु भएका विद्यालयमा गाउँपालिकाले आन्तरिक स्रोतबाट तलबभत्ता उपलब्ध गराउने गरी शिक्षक दरबन्दी सिर्जना गरेर शिक्षकको व्यवस्था गरेको छ ।

गाउँपालिका अध्यक्ष हेमन्त राईले प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा विद्यालय तथा शैक्षिक संस्था  सञ्चालनको अधिकार संविधानले दिएको  सम्झाउँदै सोहीअनुसार मातृभाषा शिक्षालाई प्राथमिकता दिइएको बताउनुभयो ।

“हामीले नयाँ शैक्षिक संस्था त खोलेनौँ, सामुदायिक बाहुल्य भएको विद्यालयमा मातृभाषा शिक्षकको दरबन्दी सिर्जना गरी मातृभाषा पाठ्यपुस्तक लागु गरेर पठनपाठन गराएका हौँ,” अध्यक्ष राईले भन्नुभयो ।

मातृभाषा शिक्षा लागु नभएका अन्य विद्यालयमा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो माङसेबुङ’ अध्यापन हुँदै आएको छ ।

माङसेबुङ गाउँपालिकाले गत जेठ १२ गतेदेखि गाउँपालिकाभर लिम्बू भाषालाई सरकारी कामकाजको भाषा घोषणा गरी लागु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan