त्रिधार्मिकस्थल हलेसीमा बोलबम मेलाः दर्शनार्थीको घुइँचो
खोटाङ, २५ साउनः साउनको अन्तिम सोमबार विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनको घुइँचो लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा साउन महिनाको अन्तिम सोमबार आज विशेष पूजाआजा तथा दर्शन गर्न देश तथा विदेशबाट आउने भक्तजनको घुइँचो लागेको हो ।
टाढाटाढाबाट गाडी रिजर्भ गरेर आएका भक्तजनका कारण हलेसी बजार तथा आसपासका क्षेत्रमा बाक्लो चहलपहल बढेको स्थानीयले बताएका छन् । साउन महिनाको अन्तिम सोमबार बिहानैदेखि हलेसी मन्दिर क्षेत्र भक्तजनले भरिभराउ बनेको थियो भने पूजाआजा तथा दर्शन गर्ने गेरुवस्त्रधारी भक्तजनको घुइँचो लागेको हो ।
साउनको अन्तिम सोमबार दर्शनार्थीको यकिन सङ्ख्या सङ्कलन भइरहेको र प्रारम्भिक अनुमानअनुसार २५ हजार भक्तजनले दर्शन गरेको हलेसी सूचना केन्द्रका प्रमुख रमेश राईले जानकारी दिनुभयो । “हलेसीमा यस वर्ष विगतका वर्षहरूको तुलनामा दर्शनार्थीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । भक्तजनको चापलाई मध्यनजर गर्दै मन्दिर परिसरमा सुरक्षाकर्मी तथा स्वयम्सेवक परिचालन गरिएको छ”, उहाँले भन्नुभयो, “दर्शनार्थीको ठूलो आगमनसँगै हलेसी क्षेत्रका होटल, पसल तथा यातायात व्यवसायमा समेत चहलपहल बढेको छ । हलेसीमा यसपटक लागेको भक्तजन तथा दर्शनार्थीको भीड अहिलेसम्मकै सबैभन्दा बढी हो ।”
सामुहिक रूपमा बोलबम गर्दै हलेसीको दर्शन गर्न नेपालको तराई क्षेत्रका विभिन्न जिल्ला तथा भारतका भक्तजन पनि उल्लेख्य सङ्ख्यामा आएका छन् । हलेसीमा लागेको बोलबम मेलामा सिरहा, सप्तरी, धनुषा, जनकपुरधाम, झापा, विराटनगर, इलामसहित भारतको सिक्किम, दार्जिलिङ, गान्तोक तथा भुटान, चीनको तिब्बतलगायत विभिन्न देशबाट दर्शनार्थी आउने गरेका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ हलेसी मन्दिरको प्रमुख गुफाभित्र अवस्थित शिवलिङ्गमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएका जल चढाउने गरिन्छ । हलेसीमा देश तथा विदेशबाट आएका हिन्दू धर्मावलम्बीहरुले नुहाएर व्रत बस्नुका साथै महादेव, पार्वती र गणेशलाई जल चढाउने प्रचलन रहिआएको उहाँले बताउनुभयो ।
साउन लागेलगत्तै हलेसीमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रङको पहिरनमा सजिएका पुरुषको समेत घुइँचो लागेको स्थानीयले बताएका छन् । तराईबाट सिधै कटारी-घुर्मी-जयराम हुँदै हलेसीसम्मको यातायात सेवा विस्तार भएपछि बोलबमको अवसरमा दर्शन गर्न र मेला भर्न जिल्ला आउने दर्शनार्थीको सङ्ख्या बर्सेनि बढ्दो रहेको स्थानीयले बताएका छन् ।
प्राकृतिक भू-बनोटको हिसाबले विश्वकै नमूना मानिने त्रिधार्मिकस्थल हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तिज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ । विशाल चट्टानले बनेको हलेसी गुफामा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरु आआफ्नै तरिकाले पूजापाठ गर्दछन् ।
बोलबमको अवसर पारेर त्रिधार्मिकस्थल हलेसी आएका अधिकांश दर्शनार्थी तथा भक्तजन यसपटक दिक्तेल बजार आएर बसेका छन् । हलेसी दर्शन गरेर दिक्तेल आएका भक्तजन बेलुका दिक्तेल बजारमा बसेर भोलिपल्ट बिहान सबेरै मझुवा कालिका भगवती मन्दिरको दर्शन गरेर फर्कने चलन रहिआएको समितिका अध्यक्ष राईले जानकारी दिनुभयो ।
