एक वर्षमा प्रहरीको उपलब्धि सार्वजनिक : अपराध अनुसन्धानदेखि नागरिकमैत्री सेवासम्म प्राथमिकता, ट्राफिक जरिवाना होइन दुर्घटना न्यूनीकरण मुख्य लक्ष्य
काठमाडौं । नेपाल प्रहरीले गत आर्थिक वर्ष २०८२/०८३ मा गरेका प्रमुख काम, उपलब्धि र भावी योजनाबारे सञ्चारकर्मीहरूमार्फत सार्वजनिक गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले प्रहरी प्रधान कार्यालयमा आयोजित साक्षात्कार कार्यक्रममा एक वर्षको अवधिमा प्रहरीबाट सम्पादित गतिविधि, अपराध अनुसन्धान, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन तथा संगठन सुदृढीकरणका विषयमा विस्तृत जानकारी दिएका हुन्।
कार्यक्रममा डीआईजी काफ्लेले २०८२ साउन १ गतेदेखि २०८३ असार मसान्तसम्मको अवधिमा नेपाल प्रहरीले गरेका प्रमुख कार्य तथा उपलब्धिहरूको तथ्यगत विवरण प्रस्तुत गरे। उनले प्रहरी संगठनको मानवस्रोत व्यवस्थापन, भौतिक संरचना, अपराध नियन्त्रण, अनुसन्धान क्षमता अभिवृद्धि र नागरिक सेवामा भएका सुधारबारे सञ्चारकर्मीलाई जानकारी गराएका थिए।
प्रहरी जनशक्ति र संरचना व्यवस्थापनमा विवरण सार्वजनिक
प्रहरी प्रवक्ता काफ्लेले नेपाल प्रहरीको कुल दरबन्दी, कार्यरत जनशक्ति, दर्जागत विवरण, विभिन्न प्रहरी इकाइहरूको अवस्था तथा आवश्यकता अनुसार विस्तार गर्नुपर्ने संरचनाबारे जानकारी दिए।
उनले विभिन्न निकायसँगको समन्वयमा परिचालित प्रहरी इकाइ, भौतिक पूर्वाधारको अवस्था, अस्थायी प्रहरी पोष्ट तथा नयाँ स्तरवृद्धिका लागि प्रस्ताव गरिएका इकाइहरूको अवस्थाबारे समेत तथ्यांक प्रस्तुत गरे।
त्यसैगरी एक वर्षको अवधिमा भएका नयाँ नियुक्ति, पदस्थापन, सरुवा, बढुवा, विभागीय कारबाही, पुरस्कार तथा प्रहरी प्रशिक्षणसम्बन्धी विवरण पनि सार्वजनिक गरिएको थियो।
अपराध अनुसन्धानमा प्रविधि र विश्लेषणमा जोड
कार्यक्रममा नेपाल प्रहरीले एक वर्षमा गरेको अपराध अनुसन्धानसम्बन्धी तथ्यांकसमेत प्रस्तुत गरिएको थियो।
डीआईजी काफ्लेले गम्भीर तथा जघन्य अपराधको विवरण, प्रदेशगत रूपमा दर्ता भएका कसुर, लागूऔषध नियन्त्रण अभियान, मानव बेचबिखन, साइबर अपराध, घरेलु हिंसा, सम्पत्ति शुद्धीकरण, फैसला कार्यान्वयन तथा हराएका र फेला परेका व्यक्तिहरूको अवस्थाबारे जानकारी दिए।
उनले साइबर ब्यूरोमा प्राप्त उजुरीका आधारमा अपराधको वर्गीकरण, लागूऔषध बरामदको अवस्था तथा विभिन्न अपराधमा संलग्न व्यक्तिहरूमाथि गरिएको अनुसन्धान प्रगतिबारे समेत प्रकाश पारे।
चर्चित अपराध अनुसन्धान र अन्तर्राष्ट्रिय समन्वय
नेपाल प्रहरीले पछिल्लो अवधिमा भएका चर्चित तथा संवेदनशील अपराधहरूको अनुसन्धानमा हासिल गरेका उपलब्धि, अन्तर्राष्ट्रिय समन्वय तथा राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसीबी) काठमाडौंले गरेका कामबारे पनि जानकारी गराइएको थियो।
अन्तर्राष्ट्रिय अपराध नियन्त्रण, सूचना आदान–प्रदान र विभिन्न देशका सुरक्षा निकायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै लगिएको प्रहरीले जनाएको छ।
शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा सुधारको दाबी
प्रहरी कार्य, शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनतर्फ भएका गतिविधिहरू प्रस्तुत गर्दै डीआईजी काफ्लेले सवारी दुर्घटना नियन्त्रण, ट्राफिक कारबाही, समुदाय–प्रहरी साझेदारी कार्यक्रम, विपद् व्यवस्थापन तथा नागरिकसँगको सम्बन्ध सुधारका प्रयासबारे जानकारी दिए।
उनले प्रहरीको प्राथमिकता जरिवाना संकलन नभई दुर्घटना न्यूनीकरण रहेको स्पष्ट पारे।
“ट्राफिक नियम सबैले पालना गर्ने हो भने हामीले ट्राफिक कारबाही वा जरिवाना गर्नुपर्छ भन्ने नै हुँदैन। हाम्रो मुख्य लक्ष्य दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति सकेसम्म शून्यमा झार्नु हो।” डीआईजी काफ्लेले भने।
उनले सडक सुरक्षा सचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै प्रहरी सक्रियता बढाइने बताए।
प्रविधिमैत्री प्रहरी र कर्मचारीको मनोबल वृद्धि प्राथमिकतामा
डीआईजी काफ्लेले नेपाल प्रहरीले अत्याधुनिक प्रविधिको प्रयोग, दक्ष जनशक्ति उत्पादन र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको बताए।
उनका अनुसार प्रहरी कर्मचारीको मनोबल वृद्धि गर्न विभिन्न कल्याणकारी योजना सञ्चालन गरिएको छ। नागरिकमैत्री प्रहरी सेवा, डिजिटल प्रविधिको प्रयोग र सेवाग्राही केन्द्रित प्रणालीलाई थप मजबुत बनाउने लक्ष्य रहेको उनले बताए।
नेपाल प्रहरी मोबाइल एपमार्फत प्राप्त गुनासाहरूको सम्बोधन, सूचना प्रवाह प्रणाली सुधार तथा प्रविधिको प्रयोगबाट प्रहरी सेवा प्रभावकारी बनाउने प्रयास भइरहेको उनको भनाइ थियो।
प्रहरी अस्पतालदेखि प्रशिक्षण प्रतिष्ठानसम्म सुधार योजना
कार्यक्रममा नेपाल प्रहरीको भावी स्वरूप, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रे परियोजना, प्रहरी अस्पतालबाट प्रदान हुँदै आएको स्वास्थ्य सेवासम्बन्धी अवस्थाबारे समेत जानकारी दिइएको थियो।
प्रहरी संगठनलाई आधुनिक, दक्ष र व्यावसायिक बनाउने उद्देश्यसहित संस्थागत सुधारका कार्यक्रम अघि बढाइएको प्रहरीले जनाएको छ।
कानुन कार्यान्वयनमा प्रहरी दृढ : सञ्चारकर्मीसँग सहकार्य बढाउने प्रतिबद्धता
सञ्चारकर्मीहरूको जिज्ञासा सम्बोधन गर्दै डीआईजी काफ्लेले नेपाल प्रहरी नागरिकप्रति उत्तरदायी र सेवाग्राही केन्द्रित भएर काम गरिरहेको बताए।
उनले शान्ति सुरक्षाको अवस्था विगतको तुलनामा थप चुस्त, व्यवस्थित र भरपर्दो बनेको दाबी गर्दै कानुन कार्यान्वयनमा प्रहरी कुनै पनि परिस्थितिमा पछि नहट्ने स्पष्ट पारे।
“सांगठनिक हित, प्रहरी कर्मचारीको व्यावसायिकता र नागरिकप्रतिको जवाफदेहीता बढाउन सञ्चार क्षेत्रबाट प्राप्त सुझाव महत्वपूर्ण छन्,” उनले भने।
प्रहरी र सञ्चारकर्मीबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
सातै प्रदेशका सूचना अधिकारीको सहभागिता
सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, प्रहरी अधिकृतहरूको सहभागिता थियो।
साथै सातै प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए।
नेपाल प्रहरीले सार्वजनिक गरेको यो विवरणले संगठनभित्रको सुधार, अपराध नियन्त्रणमा प्रविधिको प्रयोग र नागरिकमैत्री प्रहरी सेवातर्फ अघि बढ्ने रणनीति देखाएको छ। तर सार्वजनिक तथ्यांकसँगै प्रहरी सेवाको वास्तविक प्रभावकारिता भने नागरिकले दैनिक जीवनमा अनुभूति गर्ने सुरक्षा, न्यायमा पहुँच र सेवा प्रवाहबाट मूल्यांकन हुने देखिन्छ।
