वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२८ बस्ने रौतहट घर भएका ४६ वर्षीय एम.डी.खुर्सिद आलम नेपाली, ललितपुर गोदावरी नगरपालिका-२ बस्ने नवलपरासी पश्चिम घर भएका ३३ वर्षीय भुप नारायण चौधरी, ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने सिराहा घर भएका ३४ वर्षीय बसन्त कुमार सिंह र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने संखुवासभा घर भएका ४२ वर्षीय रस्तमान राई रहेका छन् ।
पक्राउ मध्ये एम.डी ले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ, भुप नारायणले जर्मनी पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३२ लाख रूपैयाँ, बसन्तले युएई पठाइदिन्छु भन्दै ११ जना पीडितहरूबाट २१ लाख रूपैयाँ र रस्तमानले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले एम.डी लाई काठमाडौं महानगरपालिका-२८ बाट र भुप नारायणलाई काठमाडौं महानगरपालिका-२ बाट बिहीबार तथा बसन्तलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट र रस्तमानलाई ललितपुर महानगरपालिका-८ बाट शुक्रबार पक्राउ गरेको हो ।
