कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछः मन्त्री चौधरी
काठमाडौँ, २७ साउनः कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताउनुभएको छ ।
अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले युवाको सहभागिता विस्तारमार्फत नवीन सोच, ऊर्जा र केही गरौँ भन्ने भावनालाई राष्ट्रको समृद्धिमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
मन्त्री चौधरीले युवा वर्गले कृषि क्षेत्रको विकासमा नवीन दृष्टिकोण, वन तथा वातावरण जगेर्नाका लागि महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो ।
देश विकासमा बलियो जनशक्ति युवा भएको बताउँदै उहाँले युवा सशक्तीकरणलाई प्रभावकारी बनाउन ग्रामीण क्षेत्रलाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।
अन्तरराष्ट्रिय युवा दिवसको यस वर्षको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००० देखि १२ अगस्टमा दिवस मनाउने गरिँदै आएको छ ।
राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा युवाकेन्द्रित नीति निर्माण तथा समाजमा युवा सहभागिता बढाउने उद्देश्यले अन्तरराष्ट्रिय युवा दिवस मनाइन्छ ।
