Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार |
newsabhiyan

खोटाङ, २९ कात्तिकः हलेसी तुवाचुङ नगरपालिकाले आगामी मङ्सिर १४ गतेदेखि ‘प्रथम तुवाचुङ कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

जिल्लाको दोस्रो ठूलो (एघार वडा रहेको) यो नगरपालिकाले जिल्लाका स्थानीय तहले सञ्चालन गर्दै आएको फुटबल प्रतियोगितामध्ये सर्वाधिक राशिको अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता गर्ने भएको हो । 

देशभरका जुनसुकै स्थानीय तहले सहभागिता जनाउन पाउनेगरी अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ ।

“अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताले स्थानीय तथा ग्रामीणस्तरमा रहेका प्रतिभावान् फुटबल खेलाडीको पहिचान गरी उनीहरूलाई व्यावसायिक रूपमा अगाडि बढ्ने हौसला मिल्ने विश्वास लिएका छौँ ।

यसले पालिकाहरूबीच समन्वय र भाइचारा कायम गर्दै खेलकुदको माध्यमबाट मित्रता, सद्भाव र आपसी सहयोगको भावनासमेत अभिवृद्धि गर्छ”, उहाँले भन्नुभयो, “प्रतियोगितामा देशभरका जुनसुकै स्थानीय तहले सहभागिता जनाउन पाउनेछन् ।

नगरपालिकाको आफ्नै खेलमैदानमा आयोजना गर्न लागिएको फुटबल प्रतियोगिताले जिल्ला, प्रदेश र राष्ट्रियस्तरका खेलहरूमा प्रतिनिधित्व गर्न सक्ने दक्ष खेलाडी तयार पार्ने अपेक्षा गरेका छौँ ।” 

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीलाई रु दुई लाख २२ हजार २२२ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

उपविजेता टोलीले रु एक लाख ११ हजार १११ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा  सेमिफाइनलिष्ट दुई टोलीले जनही रु ५५ हजार ५५५ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । 

प्रतियोगिता अवधिभरका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु १०–१० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

आगामी मङ्सिर १४ देखि १९ गतेसम्म आयोजना गर्न लागिएको अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताका सबै खेल वडा नं ७ महादेवस्थानस्थित फुटबल खेलमैदान सञ्चालन हुने छ ।

त्रिधार्मिकस्थल हलेसीस्थित महादेवस्थानमा सञ्चालन हुने ‘प्रथम पालिका कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताका लागि यही कातिक १७ गते बसेको १५०औँ नगर कार्यपालिकाको बैठकले औपचारिक निर्णय गरेको थियो ।

नगर कार्यपालिकाले गरेको निर्णयको आधारमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले सूचना जारी गरेर अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको बारेमा जानकारी दिनुभएको हो ।

अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताका खेलहरू अन्तरराष्ट्रिय नियम (फिफाले निर्धारण गरेको नियम)अनुसार खेलाइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रत्येक नगर÷गाउँपालिकाबाट एक टोलीमात्र सहभागी हुन पाउने, सहभागिताका लागि नगर÷गाउँपालिकाको पत्र र खेलाडीको परिचय खुल्ने नागरिकता÷जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्ने, तीन जना खेलाडी अन्तर नगर÷गाउँपालिकाको राख्न पाइने र खेल नकआउट प्रणालीमा खेलाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan