Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

छठ पर्वले जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउँछ : प्रधानमन्त्री बालेन्द्र शाह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार |
newsabhiyan

काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले प्रकृति र आस्थाको महान् पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै छठ पर्वले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने गहिरो सन्देश दिने उल्लेख गर्नुभएको छ।

भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यस पर्वले परिवारको सुख, शान्ति, आरोग्य तथा सन्तानको दीर्घायुको कामना गर्ने परम्परा रहेको उहाँले बताउनुभएको छ।

उदाउँदो सूर्यलाई जस्तै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिने छठको परम्पराले जीवनको गहिरो दर्शन सिकाउने प्रधानमन्त्री शाहको भनाइ छ। यसले प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गर्नुका साथै जीवनका हरेक अवस्था र परिस्थितिलाई सम्मान गर्न प्रेरित गर्ने उहाँले उल्लेख गर्नुभएको छ।

चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने परम्परा रहेको प्रधानमन्त्रीले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ।

सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले छठ पर्वले सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।

प्रधानमन्त्री शाहले भगवान् सूर्यदेव र छठी माताको कृपा सबैमाथि सधैँ रहिरहोस् भन्दै मैथिली भाषामा समेत छठको शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले मैथिली भाषामा ‘छैठके बहुत रास शुभकामना! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि’ भन्दै सबैको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan