दमौलीमा छठ पर्व मनाइयो
दमौली (तनहुँ), २९ कात्तिकः तनहुँको सदरमुकाम दमौलीमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको छ । व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज पूजाआजा गरी अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको हो ।
दमौलीमा विगत २५ वर्षदेखि छठ पर्व मनाउँदै आउनुभएका मुन्ना कुमारले चार दिनदेखि चोखो बसेर आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेको जानकारी दिनुभयो । यस्तै भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुनेछ । उहाँका अनुसार २५ घरपरिवारले यहाँ छठ पर्व मनाएका छन् । विगतका वर्षमा उक्त सङ्ख्या धेरै हुने भए पनि अहिले बाटो सहज भएकाले कतिपय व्यक्तिहरु आफ्नै घर गएर छठ पर्व मनाएको उहाँले बताउनुभयो ।
छठ पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको सुरेश साहले बताउनुभयो । सूर्यको आराधना गरी मनाइने छठ पर्वले मानवजीवन र प्रकृतिबीचको सम्बन्धलाई समेत उजागर गर्छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतालुले नुहाएर छठ पूजाको विधि सुरु गर्छन् । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्वको समापन गरिन्छ ।
नेपालमा विशेषगरी तराई–मधेस क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पछिल्लो समय पहाडी जिल्लामा पनि लोकप्रिय बन्दै गएको छ । यस पर्वमा व्रतालुले पवित्र जलाशयमा स्नान गरी साँझ अस्ताउँदो र बिहान उदाउँदो सूर्यलाई दूध, जल तथा विभिन्न परिकार चढाएर पूजा गर्ने परम्परा रहेको छ ।


