टिका, निशा र यशोदाको सहकार्यमा तीज गीत ‘ए मैना सुनन’ रिलिज
काठमाडौं। दिनभर अस्पतालमा बिरामी स्याहार्ने, राति ड्युटी सकेर घर फर्केपछि शब्द बुन्ने— यसरी बित्यो सिड्नीमा बस्ने यशोदा सापकोटा कार्कीको पछिल्लो केही समय।
नतिजा अहिले सार्वजनिक भएको छ, उनको पहिलो तीज गीत ‘ए मैना सुनन’ का रूपमा।
कार्की विगत १२ वर्षदेखि अस्ट्रेलियाको सिड्नीस्थित एउटा पब्लिक अस्पतालमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत छिन्।
तीन सन्तानकी आमा समेत रहेकी उनका लागि विदेशको व्यस्त दिनचर्याबीच नेपाली भाषा र संस्कृतिसँग जोडिइरहनु सजिलो थिएन। त्यही चाहनाले उनलाई गीत लेख्न डोऱ्याएको र यसपटक तीजको बेलामा उनको शब्द बजारमा आइपुगेको हो।
गीत आमा र छोरीबीचको सम्बन्ध वरिपरि घुम्छ। माइती छाडेर पराई घर गएकी छोरी र उनलाई सम्झिरहने आमाको भावनालाई तीजको सांस्कृतिक पृष्ठभूमिमा उभ्याइएको छ।
गीतमा स्वर निशा कँडेलको छ भने सङ्गीत टिका दहालले दिएका छन्। एरेन्जमेन्ट अल्मोडा राना उप्रेती र मिक्सिङ-मास्टरिङ रङ्गीत बल्लभ उप्रेतीको रहेको छ।
भिडियो निर्देशन गम्भीर बिष्टले गरेका हुन्, जसमा मोडल बिना राउत मुख्य भूमिकामा देखिन्छिन्। छायाङ्कन देवदोर्जे लामाले, कोरियोग्राफी पुनम श्रेष्ठले, आर्ट डाइरेक्सन मणिक पाख्रिनले गरेका छन् भने सम्पादन र कलर संयोजनको काम प्रबिन भट्टले सम्हालेका छन्।
नियरबाइ क्याटरिङ र नीका टेक्नोलोजीको संयुक्त लगानीमा तयार यो गीत ‘नेपाल क्युब’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। "विदेशमा बसे पनि आफ्नो माटो र आफन्तसँगको सम्बन्ध कहिल्यै टुट्दैन, त्यही भावना यो गीतमा उतार्न खोजेकी हुँ," कार्कीले भनिन्।
