राष्ट्रिय सभामा ग्यास अभाव, सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको कडा आलोचना
काठमाडौं, २७ साउन । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बुधवारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले मुलुकमा व्याप्त विभिन्न समस्याहरूप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
खाना पकाउने ग्यास (एलपी ग्यास) को चरम अभाव, शान्ति सुरक्षाको फितलो अवस्था र सरकारको कार्यशैलीलाई लिएर सांसदहरूले कडा आलोचना गरेका हुन् ।
बैठकमा सांसद कमला पन्तले बजारमा ग्यासको हाहाकार हुँदा पनि सरकारले आपूर्ति सहज छ भन्नु लज्जास्पद रहेको बताउनुभयो ।
उहाँले जनताको घरमा चुलो बल्न छाडेको उल्लेख गर्दै यसबारे संसदमा सरकारको तर्फबाट रुलिङको माग गर्नुभयो । त्यसैगरी, माननीय सदस्य मदनकुमारी शाहले डेलिभरीको नारा दिने सरकारले जनतालाई ग्यासका लागि घण्टौँ लाइनमा बस्न बाध्य बनाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
सांसदहरू तुलप्रसाद विश्वकर्मा र नरबहादुर विष्टले माईतीघर मण्डलामा ११६ दिनदेखि धर्नारत दिपा नेपालीको मागप्रति सरकार उदासीन रहेको बताउनुभयो । उहाँहरूले जनताले ग्यास नपाएर सास्ती भोगिरहेको र सरकारले समस्या समाधानमा ध्यान नदिएको आरोप लगाउनुभयो ।
यस्तै, सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति सांसद नारायणदत्त मिश्रले आपत्ति जनाउनुभयो । दुई समुदायबीच तनाव बढ्दा सुरक्षा संयन्त्र समयमै परिचालन हुन नसकेको टिप्पणी गर्दै उहाँले घटनाको निष्पक्ष न्यायिक छानबिन र दोषीलाई कारबाहीको माग गर्नुभयो ।
सिराहाको गोलबजारमा भएको आगजनी र भौतिक क्षतिका सम्बन्धमा बोल्दै माननीय सदस्य मोहम्मद खालिदले पीडितलाई क्षतिपूर्ति दिन र सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गर्नुभयो ।
सांसद भूवनबहादुर सुनारले सरकारको सय बुँदे कार्ययोजनाको आलोचना गर्दै सुकुम्बासी बस्तीमा डोजर आतंक, रासायनिक मलको अभाव र महँगी नियन्त्रणमा सरकार असफल भएको दाबी गर्नुभयो ।
यसैगरी सांसद युवराज शर्माले राष्ट्रिय ट्रमा सेन्टरमा महँगा स्वास्थ्य उपकरण बिग्रनु, विद्युतमा भ्याट लगाइनु र कृत्रिम अभाव सिर्जना हुनुले जनतामा निराशा छाएको बताउनुभयो ।
शून्य समयमा बोल्ने अन्य सदस्यहरूले पनि जनसरोकारका विषयमा सरकार जवाफदेही हुनुपर्नेमा जोड दिएका छन् ।
