Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रघुगङ्गामा करदाता सेवा सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार | रासस

 

म्याग्दी, २८ साउनः म्याग्दीको रघुगङ्गा गाउँपालिकामा बुधबारदेखि करदाता सेवा सुरु भएको छ । 

 

मौवाफाँटमा रहेको गाउँपालिकाको कार्यालयले स्थायी लेखा नम्बर जारी, व्यवसायको आयकरमा दर्ता, स्थायी लेखा नम्बर दर्तासँग सम्बन्धित संशोधन र दर्ता खारेजी भएका व्यावसायिक स्थायी लेखा नम्बरलाई व्यक्तिगत स्थायी लेखा नम्बरमा रुपान्तरण गर्नेसम्बन्धी सेवा सुरु गरेको हो ।  

 

यसअघि यी सेवा लिनका लागि म्याग्दीका सेवाग्राही आन्तरिक राजस्व कार्यालय बागलुङ जाने गरेका थिए । करदातासम्बन्धी सेवाका लागि बागलुङ जान, आउन लाग्ने समय र खर्चको बचत भई सर्वसाधारणलाई सहज भएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । 

 

अध्यक्ष भण्डारी र आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालले सेवाग्राहीलाई व्यासायिक र व्यक्तिगत लेखा नम्बर दर्ता प्रमाणपत्र प्रदान गरेर सेवा शुभारम्भ गर्नुभएको हो । 

 

पहिलो पटक अनु अश्विनी कृषि तथा पशुपक्षी फार्मका सञ्चालक रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटकी भदेवी तिलिजालाई व्यावसायिक र माधव भण्डारीलाई व्यक्तिगत लेखा नम्बर प्रदान गरिएको थियो ।  

 

सङ्घीय सरकारले २०८३ कात्तिक १७ गते स्थानीय तहबाट करदाता सेवा प्रदान गर्ने निर्णय गरेको थियो । मौवाफाँटका व्यवसायी रमेश शर्माले गाउँपालिकाबाटै करदातासम्बन्धी सेवा उपलब्ध भएपछि भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका व्यवसायी र उद्यमीलाई सहज भएको बताउनुभयो । 

 

“रु एक हजार कर तिर्नका लागि रु दुईदेखि तीन हजार खर्चेर बागलुङ जान, आउन हुने दुर्गम कुइनेमङ्गले, पाखापानी जस्ता बस्ती भएका रघुगङ्गाका बासिन्दालाई करदाता सेवाले समयको बचत र खर्च घटाएको छ,” उहाँले भन्नुभयो, “सेवाको निरन्तरता आवश्यक छ ।”

 

सेवाले प्रशासनिक सङ्घीयतालाई बलियो बनाउने र यस कार्यक्रमले कर प्रशासनको कामलाई विकेन्द्रित गर्दै स्थानीय तहलाई थप मजबुद बनाउन सहयोग पुग्ने आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत सिलवालले बताउनुभयो । 

 

उहाँका अनुसार कर कार्यालयको कार्यक्षेत्र भएका जिल्लाहरू बागलुङ, पर्वत, मुस्ताङ र म्याग्दीका स्थानीय तहहरूमध्ये म्याग्दीको रघुगंगा र बेनी नगरपालिकासहित छवटा स्थानीय तहले करदाता सेवा सञ्चालन गरेका छन् । 

 

गाउँपालिकाका मौजुदा कर्मचारीलाई तालिम प्रदान गरी आवश्यक उपकरणको व्यवस्थापन गरेर करदाता सेवा सञ्चालन गरिएको रघुगङ्गाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो । 

 

करदातालाई सहजता हुने, कर भुक्तानीको लागत र समय घट्ने, स्थानीय सरकारको ‘आयस्रोत’ सक्षमता करको आधारमा वृद्धि हुने, सुशासन प्रवर्धनमा सहयोग पुग्ने उहाँको भनाइ छ । 

–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan