नेपाल इन्जिनियरिङ कलेज र मधुसूदन फाउण्डेशनबीच समझदारी
काठमाडौं, २८ साउन । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज र मधुसूदन भण्डारी मेमोरियल फाउन्डेसन बीच स्नातकोत्तर तहका योग्य तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा समझदारी गरिएको छ ।
मंगलबार भएको समझदारी अनुसार फाउन्डेसनले नेपाल इन्जिनियरिङ कलेजमा अध्ययन गर्ने एक जना स्नातकोत्तर तहका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेछ । छात्रवृत्ति सन् २०२६ को स्प्रिङ इन्टेक अन्तर्गत अध्ययन गर्ने विद्यार्थीका लागि लागू हुनेछ ।
फाउन्डेसनले आफ्नो विधान तथा छात्रवृत्ति नीतिअनुसार विद्यार्थी छनोट गरी कलेजमा सिफारिस गर्नेछ । छनोट भएका विद्यार्थीको शिक्षण शुल्क तथा दुवै पक्षबीच सहमति भएका अन्य शैक्षिक खर्च फाउन्डेसनले व्यहोर्ने समझदारीमा उल्लेख छ ।
छात्रवृत्तिका लागि उत्कृष्ट शैक्षिक योग्यता भएका, आर्थिक रूपमा विपन्न तथा नेपालको दुर्गम क्षेत्रबाट आएका विद्यार्थीलाई प्राथमिकता दिइनेछ । विद्यार्थीले फाउन्डेसनको छात्रवृत्ति मापदण्ड तथा कलेजका आवश्यक भर्ना सर्तहरू पूरा गरेको हुनुपर्नेछ ।
समझदारीअनुसार कलेजले एक स्नातकोत्तर छात्रवृत्ति सिट उपलब्ध गराउने, छात्रवृत्ति प्राप्त विद्यार्थीको भर्ना तथा शैक्षिक प्रगतिसम्बन्धी जानकारी फाउन्डेसनलाई उपलब्ध गराउने र छात्रवृत्ति कार्यक्रम पारदर्शी रूपमा सञ्चालन गर्नेछ ।
समझदारीपत्रमा कलेज सञ्चालक समितिका अध्यक्ष जीवन खत्री तथा फाउन्डेसनका अध्यक्ष सन्तोष भण्डारीले हस्ताक्षर गरेका छन् ।
समझदारीपत्र पाँच वर्षसम्म लागू हुने र दुवै पक्षको पारस्परिक लिखित सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।
यस सहकार्यले आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका प्रतिभाशाली विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
इन्जिनियरिङ शिक्षामा जेहेन्दार, मेहनती, गरिब, विपन्न तथा असहाय विद्यार्थीहरुको पहुँच स्थापित गर्ने उद्देश्यले विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी विभिन्न प्रकारका छात्रवृत्ति प्रदान गर्दै आइरहेको कलेजले जनाएको छ ।
कलेजले हरेक वर्ष करिब १५ करोड बराबरको छात्रवृत्ति प्रदान गरिरहेको कार्यवाहक प्राचार्य मोहनध्वज केसीले बताए ।
