Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आईजीपी कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रहरी पोसाक खरिदको छानबिन गर्न माग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार |
newsabhiyan

काठमाडौं । सत्तारूढ दलका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीले गत निर्वाचनका लागि खरिद गरेको जुत्ता, मोजा, कपडालगायत पोसाक तथा सामग्रीमा अनियमितता भएको आरोप लगाउँदै तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्।

बुधबार बसेको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सांसद सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसहित आरोप लागेका अधिकारीलाई जिम्मेवारीमै राखेर निष्पक्ष छानबिन हुन नसक्ने दाबी गरे।

उनले आईजीपी कार्कीलाई तत्काल जिम्मेवारीबाट अलग गरी निष्पक्ष छानबिन अघि बढाउनुपर्ने बताए। ‘तत्काल छानबिन समिति बनाउनुपर्छ, आरोपित मानिसहरूलाई जिम्मेवारीबाट बाहिर राख्नुपर्छ र निष्पक्ष ढङ्गले छानबिन गरिनुपर्छ,’ सुनारले भने।

सुनारले प्रहरीका लागि खरिद गरिने जुत्ता, मोजा, कपडा तथा अन्य सामग्रीमा हुने अनियमितताको प्रत्यक्ष असर न्यून आय भएका प्रहरी तथा म्यादी प्रहरीमाथि पर्ने बताए।

उनले तत्कालीन गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षकलाई समेत छानबिन अवधिभर जिम्मेवारीबाट अलग राख्नुपर्ने धारणा राखे।

‘आरोप लागेका व्यक्ति पदमै बसेर आफूविरुद्धको छानबिनमा प्रभाव पार्न सक्छन्। बर्दी लगाएर बसेर “ल, मलाई छानबिन गर” भन्न पाइँदैन,’ सुनारले भने।

उनले प्रहरीका लागि सामग्री खरिद गर्ने ठेकेदार र प्रहरी अधिकारीबीच भएको सम्भावित सम्पर्क तथा आर्थिक कारोबारसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरे।

बैठकमा प्रहरी महानिरीक्षक कार्की, गृह सचिव श्रेष्ठलगायत सम्बन्धित अधिकारीहरूको उपस्थिति थियो।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा निर्वाचन प्रहरीका लागि खरिद गरिएको पोसाक तथा सामग्रीमा करिब ६० करोड रुपैयाँ हिनामिना भएको दाबी गर्दै सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो। सोही उजुरीमाथि समितिले छलफल अघि बढाइरहेको छ।

सांसद सुनारको मागसँगै प्रहरी पोसाक खरिद प्रक्रियामा भएको भनिएको अनियमिततामाथि छानबिन गर्ने विषय थप पेचिलो बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan