Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रासस स्थानीय समाचारदाताका लागि ‘भर्चुअल’रूपमा अभिमुखीकरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार | (रासस)

काठमाडौँ, २७ साउनः राससले नवनियुक्त आफ्ना स्थानीय समाचारदाता (स्ट्रिङ्गर)हरुलाई ‘भर्चुअल’रूपमा अभिमुखीकरण कार्यक्रम आयोजना गरी समितिको समाचार सेवासहित विविध विषयमा जानकारी गराएको छ ।

    राससका अध्यक्ष, महाप्रबन्धक, प्रधानसम्पादक, प्रमुख समाचारदाता, आलेख समाचार संयोजकसहित विभागीय प्रमुख, प्रदेश तथा अन्य कार्यालयका प्रमुखसमेतको उपस्थितिमा भएको सो कार्यक्रममा आव २०८३/८४ का लागि नियुक्त भएका १०१ जना स्ट्रिङ्गरको सहभागिता थियो ।

    नयाँ आर्थिक वर्ष सुरु भएसँगै आवश्यकता र औचित्यका आधारमा जिल्लामा कम्तीमा एक जनाका दरले स्ट्रिङ्गर नियुक्त गरी समाचार सम्प्रेषण गर्दै आएको राससले यस वर्ष सूचना प्रकाशित गरी स्पष्ट मापदण्डसहित स्ट्रिङ्गर छनोट गरेको थियो । आवेदकको शैक्षिक योग्यता, कार्यअनुभव, सूचना प्रविधिका  क्षेत्रमा प्राप्त ज्ञान–सीप, ‘मल्टिमिडिया’मा दख्खल, अत्यवश्यक सञ्चार उपकरण भएनभएको अवस्थालगायत आधारभूत मापदण्ड तय गरी स्थानीय समाचारदाता नियुक्त गरेको राससले आज यस किसिमको कार्यक्रम गरेको हो ।

    अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्नुहुँदै राससका अध्यक्ष उदयबहादुर राना मगरले नयाँ र विकसित परिस्थितिमा जिम्मेवार भएर काम गर्न सबै समाचारदातालाई निर्देशन दिनुभयो । उहाँले राससको दायित्व र व्यावसायिक पत्रकारिताको धर्मलाई आत्मसात् गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

    महाप्रबन्धक सन्दीप राईले समाचारदातालाई ‘मल्टिमिडिया’मैत्री हुँदै सक्रियतापूर्वक समाचार सामग्री सम्प्रेषण गर्न निर्देश गर्नुभयो । उहाँले केन्द्रीय समाचार कक्ष र प्रदेश कार्यालयसँग निरन्तर समन्वयमा रही राससको साख बढाउन आग्रह गर्दै स्थानीय समाचारदाताको पारिश्रमिक समयसापेक्ष वृद्धिका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    राससका प्रधानसम्पादक उत्तम सिल्वालले सूचनाको संवेदनशीलतालाई मनन् गरेर खोजी एवं स्थलगत समाचारमा ध्यान दिन आग्रह गर्दै सबैभन्दा पहिला रासस भन्ने कुरालाई ध्यान दिन स्मरण गराउनुभयो ।

    राससका प्रमुख समाचारदाता एकराज पाठकले रासस मिडियाको पनि मिडिया भएकाले एकै पटक धेरै सञ्चारमाध्यममा काम गरिरहेको बोधका साथ काम गर्न सुझाउनुभयो ।

    राससका आलेख प्रमुख कृष्ण अधिकारीले ‘कन्टेन्ट’ सामयिकता कायम गर्दै जिल्लामा राससका दूतका रूपमा काम गर्न आग्रह गर्नुभयो ।

    यसैगरी राससका स्थानीय समाचारदाता संयोजक नारायणप्रसाद न्यौपाने, तस्बिर सम्पादन शाखाका युद्धकुमारी खड्का, श्रव्यदृष्य शाखाका कुम्भराज राईलगायतले सम्बन्धित शाखाका लागि सामग्री समन्वय र शैलीबारे अवगत गराउनुभएको थियो ।

    राससका निमित्त प्रशासन प्रमुख भरत केसी, वरिष्ठ समाचारदाता प्रकाश सिलवाललगायत सहभागी कार्यक्रममा राससका प्रदेश कार्यालयका प्रमुख एवं प्रतिनिधिले स्थानीय समाचारदाताका लागि आवश्यक समन्वयन र सहजीकरण गरिने बताएका थिए भने सहभागी समाचारदाताले पारिश्रमिक वृद्धि, समाचार सामग्रीको प्राथमिकता, कार्यक्षेत्र आदिबारे जिज्ञाशा र सुझाव दिएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan