‘निर्वाचन प्रहरीको पोसाक खरिद पारदर्शी छ’
काठमाडौँ, २७ साउनः गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी विषयमा प्रचलित कानुनमा रहेको व्यवस्था पालना गरिएको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “विगतमा जे जसरी सुरक्षा व्यवस्था र यससम्बन्धी सामग्रीको व्यवस्थापन गर्ने विषय समावेश गरियो, मापदण्डमा सोहीबमोजिम स्वीकृत गरेर अगाडि बढाइएको हो ।”
गृहसचिव श्रेष्ठले विगतभन्दा अझ व्यवस्थित, पारदर्शी र एउटा मितव्ययी हिसाबले सम्पन्न गर्ने प्रयास गरेको र यसमा मन्त्रालयको तर्फबाट कुनै गतिविधि नभएको स्पष्ट पार्नुभयो ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निवाचन प्रहरीको पोसाक खरिदमा अनियमिता भएको विषयमा सत्यता नभएको बताउनुभयो । “निर्वाचन प्रहरीले स्वयं वा आफ्नै समूहबाट मापदण्डअनुसारको पोसाक खरिद गरेको वा र सो रकम उनीहरूकै बैङ्क खातामा सोझै भुक्तानी भएको हुँदा यसमा नेपाल प्रहरीको कुनै तहको संलग्नता हुने विषय भएन”, उहाँले भन्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गतआर्थिक वर्षको २०८२/८३ को यस पोसाक खरिद सन्दर्भमा सशस्त्र प्रहरी बलका तर्फबाट कुनै पनि बजेट हामीलाई प्राप्त बजेट पोसाक खरिद गर्न प्राप्त भएको बजेट कुनै पनि बजेटमा अनियमितता नभएको स्पष्ट पार्नुभयो ।
