लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
रौतहट, २७ साउनः रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मङ्गलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक र एक बालिकाको शव फेलापरेको छ ।
स्थानीय १० वर्षीय बालक मोहमद रहमतुल्लाह र सोही उमेरकी बालिका सवनम खातुनको शव आज बिहान फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षिक वसन्त गौतमले जानकारी दिनुभयो ।
घटनास्थलभन्दा करिब पाँच किमी दक्षिण परोहा नपा वडा नं २ जिङ्गडवास्थित लालबकैया खोला किनारमा करिब २०० मिटरको दूरीमा शव फेलापरेको रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कानुनी प्रक्रिया पूरा गरी ‘पोष्टमार्टम’ गर्नका लागि प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको टोली घटनास्थलपतर्फ खटिएको रौतहट जिल्ला प्रहरी प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
